काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाअध्यक्ष सरोज लामा वैदेशिक रोजगारीका लागि जर्मनी प्रस्थान गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित लामा इमान्दार भएर काम गरे पनि उचित मूल्यांकन र सम्मान नपाएको गुनासो गर्दै विदेशिएका हुन्।
लामाले सामाजिक सञ्जालमार्फत संदेश जारी गर्दै आफ्नो क्षमताभित्र रहेर समाजसेवा गरे पनि त्यसको प्रशंसा नपाउँदा आत्मसन्तुष्टि नपाएको उल्लेख गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, “सकेसम्म सबैलाई सन्तुष्ट पार्ने गरी इमान्दारितापूर्वक काम गरेँ, तर जति प्रयास गर्दा पनि जस नपाउँदा आत्मसन्तुष्टि मिलेन। त्यसैले यो राजनीतिबाट सदाका लागि विदा लिने निर्णय गर्दै जीवनलाई पुनः शून्यबाट सुरु गर्न विदेश लागेको छु।”
लामाले आफ्नो कार्यभार वडा सदस्य हिसेग्याम्जो लामालाई तोकेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका उनी गोरखामा सबैभन्दा कान्छा वडाअध्यक्ष बनेका थिए। चुमनुब्री–६ लोक्पाबाट उम्मेदवार बनेका उनी अन्य स्थानीय तहमा कांग्रेस–माओवादीबीच प्रतिस्पर्धा भइरहेका बेला निर्विरोध निर्वाचित भएका थिए।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया