काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको दबाब विवेकभन्दा ठूलो हुने प्रणालीले माओवादी आन्दोलन र जनयुद्धको संघर्षलाई कठिन बनाएको बताएका छन्।
शुक्रबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित “संघर्षमा सिरानचोक” पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष प्रचण्डले भने, “यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो। संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ।”
उहाँले ७५३ वटै पालिकामा जनताको संघर्षका गाथा र योगदानहरू लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै प्रत्येक पालिका र वडा स्तरसम्मका ऐतिहासिक गाथा संकलन गरेर राष्ट्रिय कृतिमा परिणत गर्न सकिने बताए।
“नवराज जीले गर्नुभएको यो कार्य प्रेरणादायी छ। यस अभियानले गणतन्त्रका लागि योगदान गर्ने सबै दलका सहिद र योद्धाहरूलाई समान सम्मान गर्ने बाटो खोल्छ,” प्रचण्डले भने।
अध्यक्ष प्रचण्डले माओवादी जनयुद्धका कृतिहरूलाई इतिहासमा सही मान्यता दिन आवश्यक रहेको उल्लेख गर्दै यसको साहित्य, दर्शन र संस्कृतिमा मौलिक योगदानलाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए। उनले भने, “जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै छ। तर यो आन्दोलन लोकतन्त्र, गणतन्त्र र सामाजिक रुपान्तरणको मुख्य वाहक हो भन्ने कुरा सबैले आत्मसात् गर्न आवश्यक छ।”
प्रचण्डले नेपाली जनयुद्धको तयारी नेपालकै विगतका विद्रोह र आन्दोलनको अध्ययनमा आधारित भएको स्मरण गर्दै, “लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान संघर्षहरूसम्मको इतिहास अध्ययन गरेर नै रणनीति तयार गरिएको थियो। त्यसैले जनयुद्ध राज्य शक्ति र अन्तर्राष्ट्रिय दबाबमा पनि दबिएन,” उल्लेख गरे।
पुस्तक “संघर्षमा सिरानचोक” सिरानचोकको इतिहास मात्र नभई देशभरिका विद्रोह र त्याग–तपस्याको सामूहिक अभिलेख भएको प्रचण्डले बताए। उनले लेखक गुराँस पुडासैनीलाई धन्यवाद दिँदै भने, “यो पुस्तक विद्रोह र त्यागको इतिहास लेखनको नयाँ उद्घाटन गरेको छ र सबैलाई एकताबद्ध गरेर अराजकता र बेथितिविरुद्ध लड्ने प्रेरणा दिन्छ।”
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार












प्रतिक्रिया