काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु फेला परेको भन्दै उद्योगमाथि कारबाही गरेको छ।
सिलबन्दी बोतलमा झिँगा जस्तो अखाद्य पदार्थ भेटिएको घटनापछि महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना तोकेको छ। उपभोक्ताले भदौ ४ मा गुनासो गरेपछि महानगर प्रहरी बलले मदिराको नमुना सङ्कलन गरी परीक्षण गरेको थियो। परीक्षणमा बोतलभित्र अखाद्य तत्त्व भएको पुष्टि भएको छ।
महानगरपालिकाले यो कार्य काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार अनुचित व्यापारिक गतिविधि ठहर गरेको छ। साथै ऐनको दफा २९(घ) र ३०(१)(ख) अनुसार धनुषा डिस्टिलरी प्रा. लि.ले कानुन उल्लङ्घन गरेको देखिएको छ।
महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम राजस्व खातामा जम्मा भइसकेको छ र सोको विवरण विभागमा पेश गरिसकिएको छ। महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया