काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्रहत्या र गाली–बेइज्जती गरेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा भएका छन्।
साइबर अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ परेका महरलाई अदालतको आदेशअनुसार हाजिरीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए।
यसअघि प्रहरीले उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो। अदालतले भदौ ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि बुधबार ब्यूरोमा उपस्थित भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर म्याद थप गर्न अदालत पेस गरेको थियो।
महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। बझाङका स्थायी बासिन्दा महर एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय भएका हुन्।
गत प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका उनले नेकपा (एकीकृत समाजवादी) का नेता भानुभक्त जोशीसँग पराजय व्यहोरेका थिए।
महरलाई २०७८ मंसिरमा एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। यौन दुर्व्यवहारसम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई तत्कालीन समयमा पार्टीले निलम्बन गरेको थियो। तर पछि सचिवालय बैठकमार्फत महरलाई पुनः जिम्मेवारीमा फर्काइएको थियो।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया