काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली झापाबाट २०७९ मंसिरको प्रतिनिधिसभा चुनावमा राप्रपाको सहयोगकै कारण विजयी भएको बताएका छन्।
त्यसबेला एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो। सोअनुसार एमालेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समर्थन गरेको थियो भने राप्रपाले ओलीलाई सहयोग गरेको थियो। दुबै जना विजयी भएका थिए।
तर करिब तीन वर्षपछि प्रधानमन्त्री ओलीले एमालेको सहयोगले मात्रै लिङ्देन विजयी भएको र आगामी चुनावमा उनले कसरी जित्छन् भन्ने हेर्ने अभिव्यक्ति दिएपछि राप्रपा असन्तुष्ट बनेको छ।
बुधबार साँझ बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले एमालेको सहयोगकै कारण लिङ्देन विजयी भएको भन्दै अब झापामा उनी कसरी जित्छन् भन्ने प्रश्न गरेका थिए।
प्रधानमन्त्रीको यस टिप्पणीलाई लक्षित गर्दै राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, “प्रधानमन्त्रीज्यू, तपाईं राप्रपाको समर्थन र सहयोगले झापाबाट विजयी भई आज प्रधानमन्त्री बन्नुभएको हो भन्ने कुरा किन बिर्सनुभयो? अब राप्रपाको समर्थनबिनै तपाईं कसरी चुनाव जित्नुहुन्छ, त्यो पनि हामी हेरौंला।”
२०७९ को निर्वाचनमा लिङ्देनले झापा–३ बाट ४० हजार ६६२ मतसहित नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए। सो क्षेत्रमा एमालेले उम्मेदवार खडा गरेको थिएन।
त्यसैगरी ओली झापा–५ बाट उठेका थिए, जहाँ राप्रपाले उम्मेदवार नखडा गरी उनलाई समर्थन गरेको थियो। उनले सो क्षेत्रमा ५२ हजार ३१९ मत ल्याउँदै विजयी भएका थिए।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया