विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले नेपालको संविधान उत्कृष्ट भए पनि यसको कार्यान्वयनमा राजनीतिक दलहरूले बेवास्ता गरेको आरोप लगाएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अन्तर्राष्ट्रिय परिस्थितिसँग मेल खाने गरी संविधान बनेको भए पनि ऐन–कानुन निर्माणमा उदासिनताले यसको प्रभावकारिता घटाएको बताए।

advertisement

उनले भने, “संविधान आफैंमा राम्रो छ। तर संविधानले मागेका धेरै ऐन–कानुन बनाउन दलहरूबाट अरुचि देखियो। अहिलेको सत्तारूढ गठबन्धनमा रहेका केही दलहरू त सुरु देखिनै संविधानको मर्मअनुसार कानुन बनाउन इच्छुक देखिएनन्, त्यसैले कार्यान्वयनमा समस्या आयो।” संघीय निजामती सेवा, विद्यालय शिक्षा, प्रहरी समायोजनलगायतका महत्त्वपूर्ण कानुन अझै पारित हुन नसक्दा संविधानको सफलता–असफलतामा प्रत्यक्ष प्रभाव परेको उनले उल्लेख गरे।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु संविधानको औचित्य समाप्त हुनु नरहेको स्पष्ट पार्दै उनले अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गरे। “राष्ट्रपति, प्रधानमन्त्री, मेयरजस्ता पदमा रहेकाहरू विभिन्न मुलुकमा फेरि राजनीतिमा फर्किएका प्रशस्त उदाहरण छन्,” उनले भने, “संविधानले वा कानुनले रोक्ने कुनै व्यवस्था छैन।”

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने चर्चा सन्दर्भमा प्रचण्डले, उनी एमाले अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा सदस्यता नवीकरण भएको कुरा सार्वजनिक भइसकेको बताए। उनले भण्डारीलाई अध्यक्ष बनाउने योजना पहिले चर्चा भए पनि त्यसको यथार्थबारे आफूलाई स्पष्ट जानकारी नभएको बताए। “भण्डारीको प्लान बी भन्ने कुरा हल्ला मात्रै हो,” उनले भने, “हाल मेरो र उहाँबीच कुनै सम्पर्क छैन।” तर उपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएजस्तै भण्डारीलाई पनि स्वागत गर्ने ढोका खुला रहेको प्रचण्डको दाबी थियो।

सीमा विवादबारे बोल्दै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या संवादमार्फत समाधान गर्ने प्रतिवद्धता आफू प्रधानमन्त्री हुँदा पहिलोपटक सार्वजनिक रूपमा व्यक्त गरेको स्मरण गरे। उनले भने, “भारत भ्रमणको क्रममा मैले स्पष्ट भनें— सिमाना समाधानबिना छिमेकीसँग सम्बन्ध सहज हुन सक्दैन। त्यसैबेला मोदीजीले पनि संवादमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएका थिए।” अहिलेको सरकारले पनि यही प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

माओवादी केन्द्रभित्रका स्वार्थ समूह विघटन गर्ने निर्णयबारे प्रचण्डले स्पष्ट पार्दै भने, “स्वार्थ समूह भन्नाले पार्टीको लाइन, विधि र नेतृत्वभन्दा बाहिर आफ्नै स्वार्थमा आधारित भेला वा गतिविधि हो। अब यसलाई अन्त्य गर्ने निर्णय गरिएको छ।”

जनार्दन शर्मा  ‘प्रभाकर’ बारे उठेका प्रश्नमा उनले पार्टीको इतिहास र आन्दोलन कुनै व्यक्तिको कारण रोकिने नसक्ने बताए। “स्थायी समितिले यसबारे धारणा बनाइसकेको छ। पदाधिकारी बैठकमा पनि थप समीक्षा हुनेछ,” उनले भने।

यस्तै, समाजवादी मोर्चा र अन्य शक्तिसँग पार्टी एकताको सम्भावना रहेको उल्लेख गर्दै प्रचण्डले यसका लागि संवाद जारी रहेको बताए। तर विद्या भण्डारीलाई अध्यक्ष बनाएर पार्टी एकीकरण गर्ने चर्चा भने “अहिलेसम्म औपचारिक एजेन्डा नभएको” स्पष्ट पारे।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com