विराटनगर । नेकपा (माओवादी केन्द्र) भित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीचको वाकयुद्ध दिनानुदिन चर्किँदै गएको छ।
केही दिनअघि प्रचण्डले आफूले “खाँबो थामेजस्तो” महसुस गर्ने र “आफूले छाडेमा गल्र्यामगुर्लुम पार्टी ढल्ने” जस्तो स्थिति भएको बताएका थिए। उक्त अभिव्यक्तिलाई प्रतिउत्तर दिँदै जनार्दनले “शेषनागले पृथ्वी थामेको भ्रम पालेजस्तो कोही पनि हुनु हुँदैन” भन्दै प्रचण्डलाई परोक्ष तरिकाले चुनौती दिएका थिए।
यसैबीच विराटनगर पुगेका प्रचण्डले फेरि एकपटक जनार्दनलाई लक्षित गर्दै कटाक्ष गरेका छन्। कोशी प्रदेश कमिटी सचिवालय बैठकमा सहभागी हुन बिहीबार बिहान विराटनगर पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा भने,
“एक जना प्रभाकरले नपत्याउँदैमा पार्टी, आन्दोलन र इतिहास रोकिँदैन। हाम्रो स्थायी समितिले यसबारे प्रष्ट धारणा दिइसकेको छ।”
पत्रकारले “तपाईंलाई आफ्नै नेताले पत्याएका छैनन्” भन्ने प्रश्न गर्दा प्रचण्डले असन्तुष्टि पनि व्यक्त गरे। उनले भने, “तपाईंहरूले विवाद चर्काउने शैलीमा प्रश्न गर्न जरुरी छैन। यो विषय आउँदो पदाधिकारी बैठकमा छलफल हुनेछ।”
पार्टीभित्र स्वार्थ समूहको प्रसंग उठाउँदै पत्रकारहरूले “स्वार्थ समूह भनेको को हुन् ?” भनेर प्रश्न गर्दा पनि प्रचण्डको जवाफ अप्रत्यक्ष रूपमा जनार्दनमाथि नै केन्द्रित देखियो। उनले भने,
“स्वार्थ समूह भन्नाले पार्टीको स्वार्थ, लाइन, विधि, पद्धति र नेतृत्वभन्दा बाहिर गएर व्यक्तिगत स्वार्थमा बैठक गर्ने वा गतिविधि सञ्चालन गर्नेहरूलाई जनाइन्छ।”
उता, उपमहासचिव जनार्दनले भने पछिल्लो समय प्रचण्डलाई निरन्तर चुनौती दिँदै आएका छन्।
अर्को प्रसंगमा प्रचण्डले लिपुलेक–कालापानी विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीको भावी कदमप्रति ध्यान दिनुपर्ने बताए।
“यो विषयलाई हामीले सधैं गम्भीरतापूर्वक लिएका छौं। म प्रधानमन्त्री हुँदा भारत र चीन दुबै पक्षसँग स्पष्ट भनेको थिएँ— सीमा समस्या समाधान नगरी छिमेकीसँगको सम्बन्ध सुमधुर हुन सक्दैन,” उनले भने।
उनले आफू प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रेस ब्रिफिङमै सीमा विवाद उठाइएको स्मरण गरे। “त्यतिबेला मोदीजीले पनि यो सीमा समस्या संवादमार्फत समाधान गरिन्छ भनेर पहिलोपटक प्रतिवद्धता व्यक्त गर्नुभएको थियो,” प्रचण्डले बताए।
उनले अहिलेको सरकारले पनि संवाद प्रक्रिया थालेर विवाद समाधानमा ठोस पहल गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया