काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनका लागि आजदेखि प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) सुरु गरेको छ।
यस निर्वाचनमार्फत पार्टीले उपनिर्वाचनका लागि आधिकारिक उम्मेदवार छान्नेछ। रूपन्देही–३ बाट उम्मेदवार बन्न ९ जनाले दाबी पेस गरेका छन्। तीमध्ये सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।
सहमहामन्त्री विपिनकुमार आचार्यलाई रूपन्देही–३ उपनिर्वाचन कमान्डर तोकिएको छ। उनकै नेतृत्वमा उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको हो। उनले पहिलो पटक कार्यविधि बनाएर डिजिटल प्रारम्भिक निर्वाचन अभ्यासमा ल्याएको जानकारी दिए।
मतदान बिहीबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म हुने छ। रूपन्देही–३ का पार्टी सदस्य, तहगत समिति सदस्य तथा केन्द्रीय सदस्यहरूले रास्वपाको मोबाइल एपमार्फत नौ उम्मेदवारमध्ये एकलाई छनोट गर्न सक्नेछन्। यदि कोही पनि मन परेन भने ‘कसैलाई पनि भोट हाल्दिनँ’ भन्ने विकल्प रोज्न सक्ने सुविधा पनि दिइएको छ।
छनोट प्रक्रियामा प्रारम्भिक निर्वाचनको भारांक ५० प्रतिशत हुनेछ भने बाँकी ५० प्रतिशत लिडरसिप एकेडेमीअन्तर्गतका विभिन्न मूल्याङ्कनका आधारमा हुने आचार्यले बताए। प्राथमिक निर्वाचनकै ५० प्रतिशत भारांकभित्र रूपन्देही–३ का पार्टी सदस्यको मतदानलाई ८० प्रतिशत, स्थानीय तहगत समिति सदस्यको मतलाई १० प्रतिशत र केन्द्रीय समिति सदस्यको मतलाई १० प्रतिशत दिने व्यवस्था गरिएको छ।
‘डिजिटल डेमोक्रेसीलाई पार्टीको आधारभूत पहिचान बनाउँदै आएको रास्वपाले यस प्रारम्भिक निर्वाचनमार्फत नयाँ अभ्यास सुरु गरेको छ,’ आचार्यले भने।
रास्वपाले भदौ १५ गते आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्नेछ। रूपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टीका दिवंगत सांसद दीपक बोहराको निधनपछि रिक्त भएको स्थान पूर्तिका लागि निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया