काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा फर्कन कुनै संवैधानिक अवरोध नरहेको स्पष्ट पारेका छन्।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनरागमनबारे भइरहेका चर्चाबीच यस्तो धारणा राखेका हुन्।
अध्यक्ष दाहालका अनुसार पूर्वराष्ट्रपतिले चाहेमा कुनै राजनीतिक दलको साधारण सदस्य मात्र नभई स्थानीय तहको प्रमुख (मेयर)मा समेत उम्मेदवारी दिन सक्ने व्यवस्था छ।
उनले भने, “राष्ट्रपति वा उपराष्ट्रपति पदमा पार्टीकै निर्णयबाट पुग्ने भएकाले कार्यकाल सकिएपछि पुनः पार्टीमा फर्किन कानुनी वा संवैधानिक अड्चन छैन।”
अन्तर्राष्ट्रिय अभ्यासमा समेत पूर्वराष्ट्रपति, प्रधानमन्त्री वा स्थानीय तहका प्रमुखहरूले सक्रिय राजनीतिमा फर्कने उदाहरण धेरै भएको उल्लेख गर्दै उनले नेपालमा पनि त्यस्तो बाटो खुला रहेको बताए।
यसक्रममा दाहालले आफ्नो पार्टीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएर यसको सुरुवात गरिसकेको दाबी गरे।
त्यस्तै उनले भण्डारीको पार्टी सदस्यता नवीकरण एमाले अध्यक्ष केपी शर्मा ओलीकै सहमतिमा गरिएको खुलासा गर्दै भने, “विद्या भण्डारीलाई एमालेको अध्यक्ष बनाउने कुरा पनि पहिले चलेको थियो, तर चीन भ्रमणपछि के भयो भन्ने स्पष्ट छैन।”
फरक प्रसङ्गमा दाहालले वर्तमान सत्ता गठबन्धनले संविधानको मर्मअनुसार ऐन–कानुन बनाउन चासो नदेखाएको आरोप लगाए।
यस्तै नेता जनार्दन शर्माको विवादास्पद अभिव्यक्तिबारे प्रश्न गर्दा उनले एक व्यक्तिको भनाइले पार्टीको आन्दोलन र इतिहास प्रभावित नहुने बताए। साथै यस विषय पदाधिकारी बैठकमा समीक्षा गरिने जानकारी दिए।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया