काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्षमा प्रतिस्पर्धामा उत्रिए हार्ने मात्र होइन, त्यसपछि भीम रावलजस्तै कारबाहीको चक्रमा फस्न सक्ने चेतावनी दिएका छन्।

बुधबार राजधानीमा महाधिवेशन प्रतिनिधिहरूसँग भएको अनौपचारिक भेटमा ओलीले व्यक्त गरेका भनाइलाई उनको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको हो। केही सञ्चारमाध्यममा ओलीको अभिव्यक्ति तोडमोडसहित प्रसारित भएको भन्दै सचिवालयले स्पष्ट पार्न विज्ञप्ति निकालिएको जनाइएको छ।

advertisement

सचिवालयद्वारा जारी विज्ञप्तिमा ओलीलाई उद्धृत गर्दै भनिएको छ, “विद्यादेवी भण्डारी पार्टीमा आएर अध्यक्ष पदमा उठेमा हार्नुहुन्छ। हारेपछि पार्टीविरुद्ध उभिनुभयो भने, पार्टीले भीम रावललाई जस्तै स्पष्टीकरण माग्दै कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ।”

ओलीले नेतृत्व लिनु भनेको ‘लालगेडी’ जस्तै सबैलाई नबिझाउने उपस्थिती देखाउने होइन, परिस्थिति अनुसार क्षमता देखाउँदै सामना गर्ने हुनुपर्ने बताए। उनले भण्डारीलाई अपमानजनक अवस्थाबाट जोगाउन व्यक्तिगत स्तरमै सक्रिय राजनीतिमा नफर्कन आग्रह गरेको खुलासा पनि गरे।

त्यस्तै, ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक अरू कसैको दम छैन’ भन्ने शैलीका समाचारलाई सचिवालयले भ्रामक र मनगढन्ते भन्दै खण्डन गरेको छ।

ओलीले पूर्वराष्ट्रपति भण्डारीप्रति सम्मान र माया आफूले सधैं गरेको तर अहिले उनी पार्टी र नेतृत्वविरुद्ध देखिन थालेकोमा आश्चर्य लागेको उल्लेख गरेका थिए।
उनले भने, “पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता लिने आधिकारिक बाटो अवलम्बन नगरी मिडिया र अन्य दलका नेतासँग भेटघाट गरेर राजनीतिमा सक्रिय हुने कुरा गर्नु भएको छ। यसरी अघि बढ्दा पार्टीको लक्ष्य र आन्तरिक एकतालाई क्षति पुग्छ।”

ओलीले भण्डारी नजिकका व्यक्तिहरूलाई उनलाई गलत बाटोमा उक्साउनेभन्दा सम्झाउन आग्रह गर्नुपर्ने टिप्पणी समेत गरेका छन्।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com