काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राजनीतिक दलहरू पार्टीको वास्तविक चरित्रमा विकसित नहुँदा आजको समस्या उत्पन्न भएको टिप्पणी गरेका छन् ।

सहिद प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विशेषगरी कम्युनिस्ट दलहरूले गठबन्धनमार्फत सत्तासम्म मात्र सीमित हुँदा पार्टीभित्रको आन्तरिक लोकतन्त्र र जनताप्रतिको जिम्मेवारी कमजोर बनेको बताए ।

advertisement

‘हामीले पार्टीलाई पार्टीजस्तो बनाउन सकेनौँ । पार्टीभित्रको लोकतन्त्र बलियो बनाउन सकिएन । मनपर्ने मान्छेलाई मात्र राख्ने प्रचलन चल्यो । शासनलाई सेवाको स्वरूपमा बदल्न सकिएन । किसानको वास्तविक पीडा बुझ्न सकिएन,’ शर्माले स्पष्ट गरे, ‘सुशासन र पारदर्शिताको कुरा भाषणमा मात्रै सीमित भयो, व्यवहारमा भने देखिएन ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि पछिल्ला सरकारहरू अझै पनि पञ्चायती शैलीकै अभ्यासतर्फ आकर्षित भएको आरोप लगाए ।

‘आजको कर्मचारीतन्त्रलाई समयअनुकूल चलाउन सक्ने राजनीतिक क्षमता नेताहरूमा छैन । त्यसैले लोकतन्त्र दलालको हातमा पुगेको छ,’ उनले भने, ‘जनताको लोकतन्त्र बनाउन नसक्दा, लोकतान्त्रिक सरकारसमेत पञ्चायतकालीन योजनाको पछिपछि लागिरहेको छ ।’

सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि फेरि डगमगाएको उल्लेख गर्दै उनले आन्दोलनबाट हासिल गरेका उपलब्धिहरू पुनः गुम्ने अवस्थासम्म पुगेको चेतावनी दिए ।

‘कम्युनिस्ट पार्टीहरूले गठबन्धन गरेर सरकारमा पुग्ने मात्र सोच्ने प्रवृत्ति त्याग्नुपर्छ । अब गम्भीर आत्मसमिक्षा र सोचको बेला आएको छ,’ उपमहासचिव शर्माले जोड दिए ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com