बुटवल। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा भ्रष्टाचारविहीन र जनमुखी कम्युनिष्ट पार्टी आवश्यक रहेको बताएका छन्।
शहीद बेपत्ता स्मृति प्रतिष्ठानले बिहीबार बुटवलमा आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले नेपालका कम्युनिष्ट दलहरू दलाल पूँजीवादको प्रभावमा फसेको बताए। उनले भने, जनतामा विकल्प छैन। सत्ता, सरकार, प्रधानमन्त्री र नेताका गुटले जनतालाई निरन्तर अपमानित गर्दै आएका छन्। समाज बौलिएको छ, यसबाट निकास दिन अब ध्रुवीकरण अपरिहार्य छ।
भुसालले संविधान र व्यवस्थामा परिवर्तन भए पनि दलहरूको संरचना, ढाँचा र कार्यशैली उस्तै रहेको टिप्पणी गर्दै पुरानो प्रणालीका कारण दलहरू अझै दलाल पूँजीवादको प्रभावमा फसेको बताए। उनले राजनीतिक रूपमा नेपाली जनतामाथि अत्याचार भएको र मुलुक अहिले नयाँ इतिहास निर्माण गर्ने प्रसव पीडामा रहेको बताए।
पुराना मान्यता भत्केका छन्, स्वार्थ र भ्रमहरू भत्काएर नयाँ मानक बनाउनुपर्छ, उनले थपे। उनले वामपन्थी आन्दोलनको ध्रुवीकरण गर्नुपर्ने बेला आएको भन्दै केन्द्रदेखि वडासम्म अभियान चलाउन आवश्यक रहेको बताए।
भुसालले आफ्नो पार्टीले अन्य दलहरू जस्तै नयाँ पार्टी बनाउने उद्देश्य नराखेको र विभाजन नभई सहि सिद्धान्त बुझाउने अभियानमा रहेको बताए। उनले देउवा, ओली, प्रचण्ड र माधव नेपालसहित वर्तमान राजनीतिक नेतृत्वप्रति जनताको असन्तुष्टि रहेको भन्दै नयाँ निकास आवश्यक भएकोमा जोड दिए।
साउन ६ गतेबाट शुरु भएको बहसले देशभर गति लिने विश्वास व्यक्त गर्दै भुसालले भने, कम्युनिष्ट आन्दोलनमा चिन्तित सबैले माथिदेखि वार्डसम्म बहस गर्नु आवश्यक छ। तीन जना मात्रले होइन, सबैको सहभागिता जरुरी छ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया