सङ्खुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको मार्गमा बाधक बनेका बेथिति अन्त्य गर्दै सुशासन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् ।
मादी माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उहाँले शिक्षा प्रणालीलाई आधुनिक, विज्ञान प्रविधि मैत्री र अनुसन्धान उन्मुख बनाउन पाठ्यक्रम तथा अध्यापन पद्धतिमा सुधार आवश्यक रहेको बताए ।
राष्ट्रपति पौडेलले शिक्षालाई सीप, क्षमता, उद्यमशीलता र जीवनोपयोगी पक्षसँग जोड्नुपर्नेमा जोड दिँदै गाउँमै कृषि उद्यम, रोजगारी, डिजिटल अर्थतन्त्र र पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
उनले युवाशक्ति विदेशिने क्रम रोक्न सीपमूलक शिक्षा र रोजगारीका अवसर सिर्जना गर्न ढिलाइ नगर्न सरकार र समाज दुवैलाई आह्वान गरे । “श्रमको सम्मानसहित गाउँमै रोजगारी र आम्दानीको वातावरण बनाउन सके मात्र विदेश पलायन रोकिन्छ,” उनले भने ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको त्याग र संघर्षको उपलब्धि भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विकासको बाटोमा देखिने कमजोरीलाई क्रमशः निस्तेज पार्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
साथै, उनले सङ्खुवासभा जलविद्युत, पर्यटन, किमाथाङ्का नाकामार्फत व्यापार विस्तार, जडिबुटी तथा कृषि उत्पादनका दृष्टिले महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै नेपालको विकास आधार कृषि, शिक्षा, जलस्रोत, पर्यटन र उद्योगमै रहेको पुनः स्पष्ट पारे ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया