काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाहिरबाट आयात हुने उपभोग्य वस्तु प्रयोगशालामा परीक्षण गरेर मात्रै उपभोक्तालाई उपलब्ध गराइने स्पष्ट पारेकाे छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारद्वारा आयोजित ‘लगानी तथा विकास सम्मेलन’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सोमबार मन्त्री भण्डारीले जनस्वास्थ्यलाई प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिए ।
उहाँले मुलुकभित्र अन्तर्राष्ट्रियस्तरको मापदण्डसहितका उद्योग स्थापना गर्ने तयारी भइरहेको बताउँदै अमेरिकी बजारलाई लक्षित गर्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रम (एनटिपिपी)मार्फत ७७ वस्तु शून्य भन्सार सुविधामा निर्यात गर्ने योजना रहेको उल्लेख गरे ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले औद्योगिक विकासका लागि पर्याप्त पूर्वाधार रहेको भन्दै निजी क्षेत्रलाई उद्योग स्थापना तथा लगानीमा संकोच नगर्न आग्रह गरे । उनले आवश्यक जमिन प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै जलस्रोत, पर्यटन, कृषि, जडीबुटी र खनिज क्षेत्रमा तत्काल लगानी आवश्यक रहेको धारणा राखे ।
कार्यक्रमका सहभागीले सुदूरपश्चिमको सम्भावनालाई मूर्त रूप दिन राज्य, निजी क्षेत्र र स्थानीय सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया