बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले व्यापक भ्रष्टाचारले मुलुकलाई भित्रैदेखि खाइरहेको आरोप लगाएका छन्।
शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भिजिट भिसा प्रकरणमा एकै दिन ५० लाख रुपैयाँसम्म घुस लिने गरिएको तथ्य बाहिर आएको उदाहरण प्रस्तुत गर्दै देशको अवस्थाबारे चिन्ता व्यक्त गरे।
‘हामीले रमेश लेखकलाई कांग्रेसभित्रको विचारक मान्थ्यौं, तर उहाँकै कर्मचारीले दैनिक ५० लाखसम्म घुस बुझाएको आरोप लगाएपछि यथार्थ के हो भन्ने प्रष्ट भएको छ,’ उनले भने, ‘यस्ता घुसका घटना अरु क्षेत्रमा पनि प्रशस्त छन् र बाहिर आउँदै पनि छन्।’
विप्लवले हालै उपप्रधानमन्त्रीसमेत भइसकेका नारायणकाजी श्रेष्ठले ‘न्यायालयमा पैसाबिनाकुनै कुरा हुँदैन’ भन्ने अभिव्यक्ति दिएको प्रसंग स्मरण गर्दै त्यो मुलुकको गम्भीर अवस्थाको प्रतिबिम्ब भएको टिप्पणी गरे। उनले वर्तमान संकटको मूल कारण दलाल पूँजीवादी संरचना भएको स्पष्ट पारे।
गणतन्त्र प्राप्तीपछि देश कुन वर्ग, कुन विचार र कुन नेतृत्वले अघि बढाउने भन्ने टुंगोमा नपुग्दा समस्या उत्पन्न भएको भन्दै उनले गणतन्त्रसम्मको परिवर्तनलाई आत्मसात गर्दै त्यसपछिको नेतृत्व पुनर्गठन अपरिहार्य रहेको बताए।
उनले समाजलाई सही बाटोमा लैजान सक्ने नेतृत्व इमान्दार र सच्चा कम्युनिस्ट पार्टीले मात्र दिन सक्ने भन्दै आजको संकट गणतन्त्रपछि अर्थतन्त्रमा आवश्यक सुधार नआउनु नै हो भन्नेतर्फ जोड दिए।
विप्लवले आफू, घनश्याम भुसाल र जनार्दन शर्मा मिलेर काठमाडौंमा सुरु गरेको बहसले देशभर चर्चा पाएको बताए। बुटवलमा भएको छलफल त्यसै बहसको निरन्तरता भएको उल्लेख गर्दै उनले भने, ‘यो बहस नयाँ पार्टी बनाउने उद्देश्यले मात्र होइन, देशको आवश्यकता अनुरूप समाधान खोज्ने अभियान हो।’
उनका अनुसार यो प्रक्रिया ८–१० वटा अन्तरक्रिया पछि सकिन पनि सक्छ। ‘यो व्यक्तिगत पहल होइन, मुलुककै आवश्यकताले जन्माएको बहस हो,’ उनले स्पष्ट पारे।
नेपालको कम्युनिस्ट आन्दोलन दिग्भ्रमित भएको बताउँदै विप्लवले यसलाई दिग्दर्शन गर्ने, एकता र श्रमिक जनताको चाहनाअनुसार उज्यालो मार्ग पहिल्याउने उद्देश्यले अन्तरक्रिया थालिएको बताए।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया