काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँको दरले अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने माग गरेका छन्।
सरकारले हालसम्म दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेपछि किसानहरू राजधानीमा आन्दोलनमा उत्रिएका छन्।
महामन्त्री थापाले बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेट गर्दै सरकार आफैंले गरेको निर्णयअनुसार किसानलाई ७० रुपैयाँ प्रति क्विन्टल दरको प्रोत्साहन अनुदान उपलब्ध गराउन सुझाव दिएका हुन्। उनले भने, “अहिले आवश्यक कदम भनेकै आन्दोलित किसानलाई सरकारले गरेको वाचा अनुसारको प्रोत्साहन अनुदान तत्काल भुक्तानी गर्नु हो।”
उनका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा ‘उखु कृषकलाई अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७५ (संशोधनसहित)’ शीर्षकमा २ अर्ब रुपैयाँ विनियोजन भएको छ। उक्त रकम निकासा गरेर गत आर्थिक वर्ष २०८१/८२ को बक्यौता समेत किसानलाई भुक्तानी गर्नुपर्ने उनले बताए।
थापाले सरकारले पटक–पटक निर्णय बदलेर किसानलाई सडकमा धकेल्ने काम गर्नु नहुने चेतावनी दिए। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “किसानहरूलाई बारम्बार सडकमा आउनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। न्यूनतम मूल्यदेखि अनुदानसम्म दीर्घकालीन समाधानका लागि सबै सरोकारवालासँग बहुआयामिक ढङ्गले छलफल गरी टुंगोमा पुग्न आवश्यक छ।”
महामन्त्री थापाले किसानले पाउनुपर्ने रकम विनियोजित बजेटबाट छिट्टै भुक्तानी गरी किसानलाई आन्दोलनबाट खेत–घर फर्कने वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत आग्रह गरेका छन्।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया