काठमाडौं । संयुक्त संसदीय सुनुवाइ समितिमा सदस्य हेरफेर हुने भएको छ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको शुक्रबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा सभामुख देवराज घिमिरेले सुनुवाइ समिति सदस्यको नाम हेरफेर गर्ने विषय समावेश गरिएको छ।
कार्यसूचीको दोस्रो बुँदामा उल्लेख छ, ‘सभामुखज्यूले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नुहुनेछ।’
स्रोतका अनुसार नेपाली कांग्रेसले आफ्ना सदस्य फेर्ने तयारी गरेको हो। यही विषयमा सभामुखले बिहीबार बोलाएको प्रमुख सचेतकहरूको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव अघि सारेका थिए।
राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालीन सभापति रामहरि खतिवडालाई संसदीय विशेष समितिले ‘कुलिङ अफ पिरियड’ विवादमा नैतिक जिम्मेवार ठहर गरेपछि उनले राजीनामा दिएका थिए। कांग्रेसले उनलाई नै संसदीय सुनुवाइ समितिमा पठाउने तयारी गरेको बताइएको छ।
यसअघि सुनुवाइ समिति सभापति रहेकी ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेकी थिइन्। रिक्त सभापति पदमा निर्वाचन हुनुअघि कांग्रेसले सदस्य फेर्न लागेको कदमलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया