काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उखु किसानको आन्दोलनलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन्।
बिहीबार आन्दोलनरत किसानसँग ऐक्यबद्धता जनाउँदै अध्यक्ष यादवले सरकारको उदासीनताप्रति प्रश्न उठाएका हुन्। उनले प्रधानमन्त्रीलाई उद्देश्य गर्दै भने, “हेलिकप्टरको तेल मात्रै सकाउने कि किसानको समस्या समाधान गर्ने पनि सोच्ने?”
केही महिनाअघि प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत मधेसको खडेरी अवलोकनका लागि गएका थिए र त्यसपछि मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेका थिए। तर अध्यक्ष यादवका अनुसार किसानले राहत वा सहयोगबाट वास्तविक लाभ पाएका छैनन्।
उनले भने, “किसानका नाममा बजेट, अनुदान र सहयोग आइरहे पनि त्यसको दुरुपयोग भयो। सही सदुपयोग भएको भए किसान आज सडकमा उत्रिनु पर्ने थिएन।”
यादवले सरकारमाथि मधेसका किसानलाई निरन्तर उपेक्षा गर्ने आरोप पनि लगाए। उनका अनुसार राणाकालदेखि नै किसानलाई उपेक्षा र दमन गर्ने प्रवृत्ति कायम रहँदै आएको छ।
किसानको मागलाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिँदै यादवले प्रधानमन्त्री ओलीलाई आन्दोलनरत किसानसँग तत्काल वार्ता गरेर दीर्घकालीन समाधान खोज्न आह्वान गरेका छन्।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया