काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। भोलि (भदौ १४) देखि १८ गतेसम्म प्रधानमन्त्री ओलीसहित उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको भ्रमणमा जाने भएको हो।
भ्रमण चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा हुँदैछ। ओली भ्रमणको क्रममा सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन्। एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुनेछ, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रतिनिधिहरू उपस्थित हुनेछन्।
भ्रमण टोलीमा प्रधानमन्त्रीको श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र सांसद छविलाल विश्वकर्मा लगायतका उच्च अधिकारीहरू रहनेछन्।
ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने १७ भदौमा एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। त्यसैगरी, उनले विभिन्न मुलुकका नेतासँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
साथै, प्रधानमन्त्री ओली चीनको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया