काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बजारमा बिक्री भइरहेका खाद्यवस्तुमा अत्यधिक मात्रामा विषादी र रासायनिक पदार्थ प्रयोग भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोलेका बर्तौलाले यस्ता विषादीयुक्त खाद्यवस्तुले जनस्वास्थ्यमा गम्भीर खतरा निम्त्याइरहेको उल्लेख गर्दै तत्काल प्रभावकारी नियमन र नियन्त्रण आवश्यक भएको बताए ।
उनका अनुसार, विषादी र रसायनको बढ्दो प्रयोगका कारण मानिसमा प्रजननसम्बन्धी समस्या मात्र नभई मुटुरोग, क्यान्सर, मिर्गौला रोग, मानसिक समस्या जस्ता नसर्ने प्राणघातक रोगहरू तीव्र गतिमा बढिरहेका छन् ।
खाद्यवस्तुमा हुने यस्ता रासायनिक प्रयोगले जनस्वास्थ्यमा दीर्घकालीन र भयावह असर पारेको छ, उनले भने, यस विषयमा सरकारको कडा निगरानी, दोषीमाथि कडाभन्दा कडा कारबाही र प्रभावकारी नीति लागू गर्न अपरिहार्य भइसकेको छ ।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया