बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन बर्तालुु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौराअर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई बर्तालुु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् ।

बर्तालु महिलाहरूले बिहानै नुवाइधुवाइ गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । आज अमुक्ताभरण सप्तमी भएकाले बर्तालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उनले बताए ।

advertisement

‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर बर्तालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । बर्तालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागोअर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूति बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । खेतबारीबाट साउ, अपामार्गलगायतका वनस्पतिको प्रतिमूर्ति बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै महिलाहरूले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको पण्डित जयानन्द भट्टले बताए ।

यसका साथै साँझको समयमा बर्तालु महिलाहरूले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमीअर्थात् अठ्यावालीका दिन बर्तालु महिलाहरूले धारण गर्ने गर्दछन् । नयाँ दुबधागोहरू आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ ।

गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी बर्तालु महिलाहरूले राति मिठोमसिनो खाना खाने चलन छ । मौलिक पर्वका रूपमा समेत रहेको गौराको मुख्य दिन भोलि गौराष्टमीअर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत खेल्ने चलन रही आएको छ । सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशिएकाहरू पनि घर फर्किने गर्दछन् ।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com