काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको राजनीतिमा आफ्नो पार्टीले विशेष स्थान बनाइसकेको दाबी गरेका छन्।
शनिबार समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै उनले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गरी अहिलेदेखि नै जनतामाझ जाने अभियान सञ्चालन गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, “आगामी चुनाव हाम्रो लागि निर्णायक छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाम्रो शक्ति संयोजन गर्न सक्यौँ भने अन्य पार्टीलाई पछि पार्न सक्छौँ। मधेश प्रदेशमा पनि हाम्रो पार्टी पहिलो शक्ति बन्न सक्ने सम्भावना छ।”
अध्यक्ष नेपालले एमालेबाट अलग हुँदा ठूलो चुनौती आए पनि त्यो कदम ऐतिहासिक र आवश्यक रहेको बताए। “विद्रोहको आँट नगरेको भए आज हामी सबैभन्दा कमजोर हुन्थ्यौँ। संविधान जोगाउने, निरङ्कुशतालाई चुनौती दिने र लोकतन्त्रलाई मजबुत बनाउन हाम्रो विद्रोह अपरिहार्य थियो,” उनले स्पष्ट पारे।
झलनाथ खनालले पार्टी विभाजनको औचित्यबारे दिएको टिप्पणीको प्रतिवाद गर्दै उनले भने, “त्यस्ता अभिव्यक्तिको कुनै अर्थ छैन। यो कुनै व्यक्तिगत स्वार्थका लागि गरिएको कदम थिएन, लोकतान्त्रिक मूल्य र सिद्धान्तको संरक्षणका लागि गरिएको थियो।”
अध्यक्ष नेपालले अरू कुनै पार्टीसँग विलय गर्ने सम्भावना नदेखाइ, विचार, सिद्धान्त र नीतिमा मेल खानेहरूसँग मात्रै सहकार्य सम्भव हुने बताए। उनले अहिले समाजवादी मोर्चा विस्तारमा लागेको उल्लेख गर्दै, अन्ततः वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्ने दिशामा आफूहरू अघि बढ्ने दृढता व्यक्त गरे।
प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार












प्रतिक्रिया