तेलअविव । इजरायली सेनाले गाजासिटीमा प्रारम्भिक चरणको सैन्य कारबाही सुरु गरेको जनाएको छ। सेनाका प्रवक्ता अवीखाय अद्राईले शुक्रबार सामाजिक सञ्जालमार्फत तीव्र कारबाही भइरहेको जानकारी दिए।
उनका अनुसार, इजरायलले आफ्ना बन्धकको सुरक्षा सुनिश्चित गर्ने र हमास समूहको संरचना पूर्ण रूपमा नष्ट गर्ने उद्देश्यले कारबाहीलाई थप सशक्त बनाउने तयारी गरिरहेको छ।
त्यसै दिन इजरायली रक्षा बलले एक विज्ञप्ति जारी गर्दै गाजासिटीमा लागू हुँदै आएको दैनिक १० घण्टे मानवीय विराम स्थगन गरिएको जानकारी गराएको छ। अब गाजासिटीलाई “उच्च जोखिमयुक्त युद्ध क्षेत्र” को रूपमा घोषणा गरिएको छ।
जुलाइ २७ देखि बिहान १० बजेदेखि साँझ ८ बजेसम्म लागू भएको यो मानवीय विराम संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सहयोग संस्थाहरूको समन्वयमा सञ्चालन भइरहेको थियो। यस अवधिमा गाजासिटी, अल मावासी र देइर अल बलाहमा राहत सामग्री र अन्य सहयोग सहज रूपमा पुर्याउन सकिएको थियो।
हाल इजरायली सेनाले केही सातादेखि गाजासिटीमा हवाई आक्रमण र तोपखाना प्रहार जारी राखेको छ। अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरे पनि इजरायली सेनाले सहरमा पूर्ण नियन्त्रण स्थापना गर्ने तयारी अघि बढाइरहेको स्पष्ट पारेको छ।
प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार













प्रतिक्रिया