काठमाडाैं । पर्सा जिल्लामा झाडापखाला तथा हैजाका बिरामी तीव्र गतिमा बढिरहेका छन्। जिल्ला स्वास्थ्य कार्यालय, पर्साले शनिबार बिहानसम्मको तथ्यांक सार्वजनिक गर्दै ७१२ जना संक्रमित दर्ता भएको जनाएको छ।
अहिलेसम्म ५१७ जना उपचारपछि निको भइसकेका छन् भने १९५ जना अस्पतालमै उपचाररत छन्। तीमध्ये ३३ जना आईसीयूमा, ४ जना एचडीयूमा र १५८ जना सामान्य वार्डमा छन्।
हैजासम्बन्धी छिटो परीक्षण (RDT) अनुसार १६२ केस पोजिटिभ देखिएका छन्। तीमध्ये १०१ जना डिस्चार्ज वा अन्यत्र रेफर भएका छन् भने ६२ जना अझै उपचारमा छन्।
स्वास्थ्य कार्यालयका अनुसार साउन २८ गतेदेखि तराई अस्पतालमा झाडापखालाका केस देखिन थालेका थिए। भदौ ५ गते पहिलो पटक हैजाको संक्रमण पुष्टि भएपछि संघीय, प्रदेश र स्थानीय तहसँगै विभिन्न स्वास्थ्य संस्था तथा अन्तर्राष्ट्रिय निकायको सहकार्यमा नियन्त्रण तथा जनचेतनामूलक अभियान सुरु गरिएको हो।
हालसम्म रेडियो सन्देश, र्याली, माइकिङ र घरदैलोमार्फत सचेतनामूलक गतिविधि भइरहेको छ। वीरगञ्ज महानगरपालिका र स्वास्थ्य कार्यालयको सहकार्यमा २२ टोली जनचेतनामूलक अभियानमा तथा ५ टोली तथ्यांक संकलनमा खटिएका छन्।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, मधेश प्रदेशमार्फत RDT किट र औषधि चरणबद्ध रूपमा वितरण गरिएको छ भने थप आपूर्ति ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ। साथै पानीको नमुना संकलन गरी परीक्षणका लागि सेन्ट्रल ल्याबमा पठाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विनोद झाले नागरिकलाई सफा पिउने पानी मात्र प्रयोग गर्न, पकाएको खाना खान, सरसफाइमा ध्यान दिन र कुनै लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेका छन्
प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार













प्रतिक्रिया