काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह नगरेको भए अहिले आफ्नो पार्टी कमजोर अवस्थामा हुने बताएका छन्।

समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, “हामीले आँट नगरेको भए, त्यो बेलामा विद्रोह नगरेको भए हाम्रो कन्तबिजोक हुन्थ्यो। विद्रोहको औचित्यविरुद्ध बोल्नेहरूको कुरा कुनै अर्थ राख्दैन।”

advertisement

उनले एमाले फुटाएर पार्टी निर्माण गर्ने कदम जायज रहेको र देशको राजनीतिमा समाजवादी पार्टीको विशिष्ट भूमिका रहेको दाबी गरे। आगामी २०८४ सालको निर्वाचनमा पार्टी तयार हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय तहदेखि प्रदेशस्तरसम्म जनतासँग जोडिने निर्देश दिए।

“कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाम्रो शक्ति सही प्रयोग गर्न सक्यौं भने अरू पार्टीलाई पछि पार्न सक्छौं। मन र भावना मिलेकाहरूसँग सँगै गए हामी पहिलो शक्ति बन्न सक्छौं,” अध्यक्ष नेपालले भने।

उनले स्पष्ट पारे कि पार्टी कुनै अन्य दलसँग विलीन नहुनेछ। “जोसँग विचार, सिद्धान्त र नीति मिल्छ, विश्वास र व्यवस्थापन मिल्छ, त्यसपछि मात्रै सहकार्य सम्भव छ। समाजवादी मोर्चा विस्तार गरेपछि वामपन्थी एकता अगाडि बढाउने काम हुनेछ।”

त्यसैगरी, अध्यक्ष नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको आरोप लगाए। उनले हदबन्दीभन्दा बढी जग्गा दिने वा दिएकोभन्दा बढी जग्गा बिक्री गर्न दिने कार्य कानुनअनुसार भएको र यसमा भ्रष्टाचारको कुनै आधार नभएको बताए।

“सरकारी वा सार्वजनिक सम्पत्ति हिनामिना गरेर भ्रष्टाचार भएको हो भन्ने आरोप असत्य हो। हदबन्दी छुटलाई नियमन गर्ने विशेष कानुनी प्रावधान रहेको छ। सरकारको सूचित आदेशअनुसार हदबन्दीभन्दा बढी जग्गा राख्न वा बिक्री गर्न स्वीकृति दिन सकिन्छ,” अध्यक्ष नेपालले स्पष्ट पारे।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com