काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला सम्पूर्ण समाजको प्रगतिको आधार रहेकी बताएकी छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घले शनिबार वीरगन्जमा आयोजना गरेको बृहत् महिला सम्मेलन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
परिवार निर्माणदेखि उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रूपान्तरणमा महिलाको योगदान अग्रपङ्क्तिमा रहेको उनको भनाई छ । पूर्वराष्ट्रपति भण्डारीले समाजमा महिलाको योगदानलाई अपेक्षित सम्मान अझै प्राप्त नभएको टिप्पणी समेत गरिन् ।
उनले भनिन्– ‘हामीले महिला समाजमा पूर्णरुपमा सक्षम हुन्छन् भनेर देखाउनुपर्छ, अझ बढी महिला आत्मविश्वासी बन्नुपर्छ ।’ महिलाको शक्ति र त्यागलाई संस्थागत रुपमा सम्मान गर्न सकिए समृद्ध नेपालको सपना पूर्ण रूपमा पूरा गर्न सकिने उनले बताइन् ।
भण्डारीले मधेसको तराई क्षेत्रका जनताहरू अहिले धेरै समस्याबाट पीडित भइरहेको समेत बताइन् । चुरे क्षेत्रको दोहनका कारण मधेसका जनताहरू गम्भीर समस्याबाट जुधिरहेको उनकाे भनाइ थियाे । उनले भनिन्– ‘चुरे क्षेत्रको दोहनले तराई क्षेत्रमा मरुभूमीकरण र बाढी डुबानकाे समस्या बढिरहेको छ, भूमिगत पानीको स्तर समेत घटिरहेको छ,’ उनले भनिन् ।
यी समस्याले सबै पक्षलाई गम्भीर असर पुर्याइरहेको बताउँदै उनले अब सरकारले कडाइका साथ नियमन गर्न जरुरी रहेको बताइन् । कार्यक्रममा मधेसमा उत्कृष्ट कार्य तथा समाजसेवा गर्ने महिलाहरूलाई सम्मान समेत गरिएको थियो ।
प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार












प्रतिक्रिया