काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन विशेष क्षेत्रको अवलोकन गरेका छन्।
आइतबार चीनको थियानजिनस्थित जिनान जिल्लाको सिआओझान क्षेत्रमा पुगेका प्रधानमन्त्री ओलीले त्यहाँको धान उत्पादन प्रणाली र प्रविधि नजिकैबाट अध्ययन गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले सोही दिन थियानजिनमै रहेको चाउ इन्लाई–तेङ यिङ्चाओ स्मृति संग्रहालय पनि अवलोकन गरेका थिए।
चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् भने उनकी पत्नी तेङ यिङ्चाओ चिनियाँ राजनीतिमा सक्रिय व्यक्तित्व थिइन्। प्रधानमन्त्री ओलीले संग्रहालय भ्रमणमार्फत चीनको ऐतिहासिक योगदान र स्मृतिप्रति सम्मान व्यक्त गरेको बताइएको छ।
प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि चीनमा चलिरहेको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी भइरहेका छन्। भ्रमणको पहिलो दिन उनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए।
राष्ट्रपति सीको निमन्त्रणामा चीन पुगेका ओली आगामी बुधबारसम्म त्यहाँ रहने कार्यक्रम छ। प्रतिनिधि सभालाई गत शुक्रबार सम्बोधन गर्दै उनले चीन भ्रमण मुलुकको समग्र हित र आपसी सहयोगका क्षेत्रमा केन्द्रित हुने स्पष्ट पारेका थिए।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार












प्रतिक्रिया