काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार अनुमोदन गर्ने उद्देश्यले आइतबार दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ।

पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार रास्वपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिसकेको छ। सचिवालयबाट अनुमोदन भएपछि उम्मेदवारको नाम औपचारिक रूपमा आइतबार अपराह्न साढे ४ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ।

advertisement

आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार दर्ताको कार्यतालिका असोज २१ गते तोकिएको छ। रूपन्देही–३ मा उम्मेदवारीका लागि नौ जनाले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धीहरूबीच लिडरसिप एकेडेमी अभ्यास, प्राइमरी इलेक्सन र विभिन्न सूचकाङ्कको आधारमा छनोट प्रक्रिया सम्पन्न गरिएको रास्वपाले जनाएको छ।

रास्वपाको विधिअनुसार उम्मेदवार छनोटमा ५० प्रतिशत मतभार प्राइमरी इलेक्सनलाई र ५० प्रतिशत लिडरसिप एकेडेमी, राजनीतिक निकटता तथा समावेशितालाई दिइएको थियो। प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्य, वडा–स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रीय कमिटी सदस्यहरूलाई मतदान गर्ने व्यवस्था गरिएको थियो।

उम्मेदवारको प्रतिस्पर्धामा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्।

यसै क्रममा रास्वपाले आइतबार नयाँ पार्टी प्रवेश कार्यक्रम पनि आयोजना गर्दैछ। जसअन्तर्गत जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केही केन्द्रीय सदस्यसहित मधेसका विभिन्न नेताहरू रास्वपामा प्रवेश गर्ने प्रवक्ता झाले बताएका छन्।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com