बुटवल । गृहमन्त्री रमेश लेखकले पर्सा सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य र समन्वय आवश्यक भएको बताएका छन्।
आज जिल्ला प्रशासन कार्यालय, पर्सामा बसेको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, “एक निकायले अर्को निकायलाई दोष दिनुहुँदैन, आपसी समन्वय र सहकार्यमार्फतै अवैध गतिविधि न्यूनीकरण गर्न सकिन्छ।”
वीरगञ्ज भन्सार कार्यालय प्रमुख विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन उत्साहजनक रहेको बताए। उनले अवैध तस्करी नियन्त्रणका लागि सबै निकायले हातेमालो गर्नुपर्ने जोड दिए।
पथलैयास्थित राजस्व अनुसन्धान कार्यालय प्रमुख हरिप्रसाद शर्माले भारतीय नागरिकद्वारा गरिने फर्मद्वारा तस्करीको प्रवृत्ति रोक्न सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण रहेको बताए।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र नेपाल प्रहरी मधेस प्रदेश प्रमुख उमाप्रसाद चतुरवेदीले पनि शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि समन्वय बढाउन आवश्यक रहेको बताए।
गृहमन्त्री लेखकले सीमा क्षेत्रमा अवैध तस्करी र अन्य आपराधिक गतिविधि रोक्न तत्काल सुरक्षात्मक पहल गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार













प्रतिक्रिया