नयाँ दिल्ली । भारतको उत्तर प्रदेशको राजधानी लखनउस्थित गुडम्बा क्षेत्रमा रहेको पटाखा कारखानामा आइतबार भीषण विस्फोट हुँदा ठूलो जनधनको क्षति भएको छ।
विस्फोटमा परेर कारखानाका मालिक आलम र उनकी पत्नी मुन्नीको घटनास्थलमै मृत्यु भएको छ भने जेठा छोरा इमरान र छिमेकी नदीम गम्भीर घाइते भएका छन्। उनीहरूलाई तत्कालै उपचारका लागि अस्पताल पठाइएको छ।
स्थानीय प्रशासनका अनुसार बिहान करिब ११:१५ बजेतिर दशहरा पर्वको तयारीस्वरूप पटाखा बनाउने क्रममा एकपछि अर्को गरी दुई पटक ठूलो विस्फोट भएको हो। विस्फोटको आवाज करिब आधा किलोमिटर टाढासम्म सुनिएको बताइएको छ।
आलमले आफ्नै घरमा बारुद भण्डारण गरी पटाखा उत्पादन गर्ने गरेका कारण विस्फोटपछि सम्पूर्ण घर पूर्णरूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ। घरभित्र अझै केही मानिसहरू पुरिएको हुनसक्ने आशंका गरिएको छ।
घटनास्थलमा प्रहरी, दमकल र उद्धारकर्मी पुगेका छन्। विस्फोटको शक्तिले वरपरका घरहरूमा समेत चिरा परेका छन्।
प्रारम्भिक रूपमा मृत्यु संख्या सात जनासम्म पुगेको जानकारी बाहिरिए पनि प्राधिकरणले आधिकारिक पुष्टि भने अझै गर्न बाँकी छ। उद्धार र राहत कार्य तीव्र गतिमा भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार












प्रतिक्रिया