काठमाडौं । शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार साँझ औपचारिक भेटवार्ता हुने भएको छ।
तियान्जिनस्थित मेइजिङ सम्मेलन केन्द्रमा साँझ ६:४५ देखि ७:१५ बजेसम्मका लागि भेटको समय निर्धारण गरिएको छ। त्यही दिन प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ, सम्बोधनपछि नै उनले राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेट गर्नेछन्।
यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटको समय भने अझै टुंगो लागेको छैन। तर ओलीले मोदीसँग पनि सम्मेलनकै साइडलाइनमा छलफल गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीको अन्य भेटवार्ताहरू भने अघिदेखि तय भएको तालिकाअनुसार सञ्चालन भइरहेका छन्, तर मोदीको तालिका अझै समायोजन हुन बाँकी छ।
शनिबार प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए। सो अवसरमा उनले नेपालको लिपुलेक क्षेत्र प्रयोग गरेर भारत–चीन व्यापार गर्ने सहमति प्रति स्पष्ट आपत्ति जनाएका थिए। यही विषयलाई उनले मोदीसँगको भेटमा पनि उठाउने तयारी गरेका छन्। यसै महिनाको अन्त्यतिर प्रधानमन्त्री ओली भारतको औपचारिक भ्रमणमा जाने कार्यक्रम भएकाले, त्यसअघि नै उनले एससीओ सम्मेलनमा मोदीसँग भेट गर्ने पहल गरेका हुन्।
यसअघि आइतबार ओलीले भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेट गरेका थिए। सोमबार बिहान भने उनले क्याम्बोडियाका राष्ट्रपति हुन मानेटसँग भेट्नेछन्। आजै उनले मालदिभ्सका राष्ट्रपति मोहम्मद मइजुसँग भेट गरेपछि, राष्ट्रपति सी चिनफिङले आयोजना गर्ने गाला डिनरमा सहभागी हुने कार्यक्रम छ।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार












प्रतिक्रिया