काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र झलनाथ खनाल र घनश्याम भुसाल समूहका नेताहरूले माओवादी केन्द्रसँग मात्र पार्टी एकता गर्नु प्रतिकूल हुने निष्कर्ष निकालेका छन् । उनीहरूको मूल्यांकन अनुसार, माओवादीसँग मात्र एकता भए धेरैजसो नेता–कार्यकर्ता पुनः एमालेतर्फ फर्कने सम्भावना बढी छ, जसले उल्टै पार्टीलाई कमजोर बनाउन सक्छ ।

आइतबार नयाँ बानेश्वरमा बसेको खनाल–भुसाल निकट नेताहरूको आन्तरिक बैठकमा यस्तो निष्कर्ष निकालिएको हो ।

advertisement

बैठकमा सहभागी एक नेताले भने, “माओवादी केन्द्रसँग मात्र एकता गर्दा फाइदा भन्दा बढी घाटा हुन्छ भन्ने निष्कर्षमा पुगेका छौँ । यदि एकता गर्नुपर्ने हो भने अरू वामदललाई समेत समेट्नुपर्छ ।”

उनीहरूको भनाइमा, साना वामदललाई समेत समेटेर व्यापक वाम एकता गरे एमालेलाई सशक्त चुनौती दिन सकिने भएकाले, केवल माओवादीसँग मात्र एकता गर्ने निर्णय हतारमा लिन नहुने धारणा सर्वसम्मत रूपमा राखिएको छ ।

बैठकमा घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, रामकुमारी झाँक्री, लक्ष्मण लम्साल, नरेशकुमार शाही, सुशील भट्टराई, मनाकुमारी साउदलगायतका नेताहरू सहभागी थिए ।

खनाल–भुसाल पक्षीय नेताहरूको अर्को बैठक भदौ २२ गते बस्ने तय भएको छ । सो बैठकमा आगामी केन्द्रीय समिति, स्थायी समिति लगायत पार्टीका आधिकारिक बैठकहरूमा पेश गरिने एजेन्डाबारे विस्तृत छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com