बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा पार्टी एक्लै चुनाव लड्ने तयारीमा रहेको बताएका छन्।
लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठकलाई आइतबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रुपन्देहीमा माओवादी केन्द्रले विगतभन्दा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्दै नेताकार्यकर्तालाई स्वयम् तयारीमा जुट्न निर्देशन दिए।
उनले कांग्रेस र एमालेका नेताहरूले समेत परिवर्तन माओवादीले ल्याएको स्वीकार गरेको दाबी गर्दै त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादीकै भएको उल्लेख गरे।
पार्टीभित्र देखिएको असन्तुष्टि वर्गसंर्घषकै स्वाभाविक रूप भएको भन्दै उनले जनयुद्ध, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा माओवादीको नेतृत्वलाई इतिहासले मान्यता दिएको बताए।
प्रचण्डले जनयुद्ध र जनआन्दोलनका सहभागी, सहिद, घाइते तथा जेलनेल भोगेका व्यक्तिको तथ्याङ्क संकलन गर्ने अभियान चलाउनुपर्ने आवश्यकता औंल्याउँदै गणतन्त्रमा योगदान गर्ने जुनसुकै नागरिकलाई सम्मान गर्ने व्यवस्था बनाउन पार्टीले मापदण्ड तय गर्ने जानकारी दिए।
उनले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दै गएको र त्यसलाई रोक्न प्रतिक्रियावादी तथा बिचौलिया समूह सक्रिय भए पनि माओवादी आन्दोलन वर्गसंर्घषको नियमअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे।
बैठकमा प्रचण्डले पार्टी संगठन पुनर्गठन, नेतृत्व हस्तान्तरणको तयारी, जनताको भरोसाप्रति जिम्मेवारी र आगामी रणनीतिबारे धारणा राखेका छन्।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार












प्रतिक्रिया