भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट ९बिओपी० स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण गरिएको छ ।
सीमा निगरानीका लागि विसं २०७७ असोजमा स्थापना भएको उक्त बिओपीमा आवास, अतिथि गृहसहितका पूर्वाधार निर्माण गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आइतबार उद्घाटन गरिएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्घाटन गरे ।
अतिथि गृह भवनको उद्घाटन गर्दै मन्त्री सार्कीले मन्त्रालयले बिओपीमा पूर्वाधार सुधार गर्ने योजनाअन्तर्गत भवन निर्माण गरिएको बताए । उनले बिओपीमा पूर्वाधार नहुँदा सीमा सुरक्षार्थ खटिएका प्रहरीले आफैँ सुरक्षित हुने अवस्था नरहेकाले प्रदेश सरकारले प्राथमिकताका साथ पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए ।
साथै उनले प्रदेश सरकारले प्रहरीलाई सुरक्षा र विपद् उद्धारका लागि आवश्यक सामग्री प्रदेशभर वितरण गरेको बताए । पूर्वाधार निर्माणले सशस्त्र प्रहरी आवास व्यवस्थापनमा सहज हुने बताउँदै उनले सीमा निगरानी, अवैध ओसारपोसार नियन्त्रण र राजस्व छली नियन्त्रणमा सक्रियताका साथ काम गर्न निर्देशन दिए ।
सशस्त्र प्रहरी बलको सुदूरपश्चिम प्रमुख प्रदीपकुमार पालले पूर्वाधार निर्माणले प्रहरीको सेवा प्रवाहमा सहज हुने बताए ।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार
प्रतिक्रिया