काठमाडौं । इन्डोनेसियामा सांसदहरूको तलब वृद्धि गर्ने निर्णयविरुद्ध देशव्यापी विरोध प्रदर्शन तीव्र बनेको छ। राजधानी जकार्ता सहितका विभिन्न सहरमा प्रदर्शन चर्कँदा हिंसात्मक घटनासमेत भएका छन्। शुक्रबार राति मकासर सहरस्थित क्षेत्रीय संसद् भवनमा प्रदर्शनकारीहरूले आगजनीसमेत गरेका थिए।

सरकारी निर्णयविरुद्ध उत्रिएको आन्दोलनमा हालसम्म कम्तीमा ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। झण्डै २०० भन्दा बढी घाइते भएका छन्।

advertisement

राष्ट्रपति प्राबोवो सुबियान्तोले प्रदर्शनपछि सांसदहरूले पाउने केही विशेष सुविधा र विशेषाधिकार खारेज गर्नेबारे दलहरूमाझ सहमति जुटेको बताएका छन्। उनले नागरिकलाई शान्ति कायम राख्न आग्रह गर्दै मृतकका परिवारसँग भेट गरेका छन् र घटनाबारे छानबिन गर्न आदेशसमेत दिएका छन्।

स्थिति नियन्त्रणबाहिर जाँदै गएपछि सुरक्षा निकायलाई कडा कदम चाल्न निर्देशन दिइएको छ। हालै मात्र प्रहरीले चलाएको गाडीले मोटरसाइकलमा सवार एक डेलिभरी कामदारको ज्यान लिँदा आमनागरिकमा आक्रोश बढेको थियो। सो घटनामा संलग्न सात जना अधिकारीलाई हिरासतमा लिइएको छ।

प्रदर्शनकारीहरूले सांसदहरूको मासिक भत्ता करिब तीन हजार ५७ अमेरिकी डलर निर्धारण गरिएको विषयलाई अस्वीकार्य ठहर गरेका छन्। यो रकम जकार्ताको न्यूनतम तलबभन्दा १० गुणा बढी हुने भएकाले नागरिकलाई उत्तेजित बनाएको हो।

प्रदर्शनमा सहभागीहरूले बढ्दो महँगी र बेरोजगारीका कारण जनजीवन संकटमा परेको भन्दै सरकारलाई तलब वृद्धि, रोजगारी कटौती रोकथाम, कर सुधार र आउटसोर्सिङ बन्द गर्नुपर्ने माग राखेका छन्।

उग्र विरोधलाई ध्यानमा राख्दै राष्ट्रपति प्राबोवोले चीन भ्रमण रद्द गरेका छन्। उनी दोस्रो विश्वयुद्ध समाप्त भएको ८०औँ वार्षिकोत्सवमा सेप्टेम्बर ३ मा चीनमा हुने विजय दिवस समारोहमा सहभागी हुन जाने कार्यक्रम स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

इन्डोनेसियाको कानुनी सहायता संस्थाले प्रहरीले प्रदर्शनलाई दमन गर्न अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ। प्रहरीमाथि मानवअधिकार उल्लंघन र केही स्थानमा रबर मात्र नभई वास्तविक गोली प्रयोग गरेको आशंका समेत उठेको छ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com