काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा सहभागी हुन सोमबार प्रस्थान गरेकी छन्।
सेप्टेम्बर २ देखि ४ (भदौ १७–१९) सम्म हुने सम्मेलनमा ४० वर्षभन्दा कम उमेरका शिक्षा, संस्कृति, खेलकुद, व्यवसाय, नागरिक समाज, सञ्चार, जनप्रतिनिधि तथा सामाजिक उद्यमशीलतासहित विभिन्न क्षेत्रका युवा नेताहरू सहभागी हुनेछन्। कार्यक्रममा नेतृत्व विकास, अनुभव आदान–प्रदान र अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा जोड दिइनेछ।
उपप्रमुख डंगोलले यसबारे भनिन्, ‘युवा विश्व नेता चयन भइसकेपछिको यो मेरो पहिलो सहभागिता हो। फरक–फरक परिवेशका सम्भावना र चुनौती बुझ्ने अवसर यस सम्मेलनले दिनेछ। सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको विविध क्षेत्रका नेतृत्व एकै मञ्चमा उपस्थित हुनु हो, जसले परिपक्व दृष्टिकोण बनाउन सहयोग गर्नेछ।’
उनका अनुसार, साहस, स्पष्ट मार्गचित्र र सामूहिक उद्देश्य सम्मेलनका अपेक्षित नतिजा हुनेछन्।
गत वैशाखमा विश्व आर्थिक मञ्चले डंगोललाई २०२५ का लागि युवा विश्व नेतामा चयन गरेको थियो। सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्दै युवालाई प्रेरणा दिन सक्ने राजनीतिज्ञका रूपमा उनलाई मनोनयन गरिएको हो।
यस पटक दक्षिण एशियाबाट ११ जना प्रतिनिधि छानिएका छन्, जसमा नेपालबाट मात्र डंगोलको नाम पर्न सफल भएको हो। विश्वका ५० भन्दा बढी मुलुकका ११६ युवा नेताहरू सहभागी हुने यस समूहमा डंगोल सरकारको प्रतिनिधित्व गर्दै चयन भएकी हुन्।
यसअघि उनी ग्लोबल सेपर्स काठमाडौं हब की सक्रिय सदस्य थिइन्।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार












प्रतिक्रिया