काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशन नजिकिँदै गर्दा तयारी तीव्र रूपमा भइरहेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । उहाँका अनुसार प्रतिनिधिदेखि मञ्च व्यवस्थापनसम्मका सबै कामको केही पूरा भएका र केही तीव्र रूपमा भइरहेको जानकारी दिए।

advertisement

एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुँदैछन् । उनले दसौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि रहेको भन्दै ती प्रतिनिधिमध्ये कसैको मृत्यु भएको, कसैले पार्टी छोडेका र कसैलाई पार्टी कारबाही गरेकाको सूची हटाइएको बताए । ती हटाएका रिक्त ठाउँमा भने नयाँ प्रतिनिधि छनौट गर्न पाइने व्यवस्था पार्टीमा नभएकाले नयाँ प्रतिनिधि चयन नहुने बताएका हुन ।

दसौँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्य भएकाहरूलाई पनि प्रतिनिधित्व गराउन नमिल्ने भएकाले उहाँहरूले आयोजकको हैसियतमा रहने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले आइतबार नै सबै प्रतिनिधिलाई एसएमएसमार्फत महाधिवेशनको निमन्त्रणा पठाइसकेको जानकारी दिए ।

महाधिवेशनको आदर्श वाक्य ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’तय गरेको छ ।

केन्द्रीय कार्यालय सचिव डा अधिकारीका अनुसार महाधिवेशनमा प्रस्तुत हुने मुख्य तीनवटा प्रतिवेदन राजनीतिक, साङ्गठनिक र विधान प्रतिवेदनको छपाइको काम भइरहेको छ ।

यस्तै, निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि छपाइका क्रममा रहेको छ । उनले प्रतिनिधिका लागि परिचयपत्र छपाइको काम सकिएको जानकारी दिए । परिचयपत्र ‘अनलाइन’ मार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा अधिकारीका अनुसार गोदावरीस्थित सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । प्रतिनिधिले ढोकामा आफ्नो परिचयपत्रमा रहेको ‘क्यूआर कोड स्क्यान’ गरेर मात्र प्रवेश गर्न पाइनेछ ।

यस्तै, महाधिवेशनको तयारीका लागि हल सजाउने र मञ्च व्यवस्थापन गर्ने काम भइरहेको उनको भनाइ छ । विभिन्न जनवर्गीय सङ्गठन र स्थानीय कमिटीले ललितपुरको सातदोबाटोदेखि गोदावरीसम्म स्वागतद्वार तयारी गरेका छन् ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com