काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको संविधानले कोही पनि व्यक्तिलाई पार्टी सदस्य हुनबाट रोक्ने व्यवस्था नगरेको भन्दै कुनै पनि पार्टीले संविधान विपरीत निर्णय गर्न नहुने बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तर-संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीसमेत कुनै पार्टीको सदस्य हुन नपाउने प्रतिबन्ध संविधानमा नभएको स्पष्ट पारे।
उनले भने, ‘राष्ट्रपतिलाई पनि पार्टीको सदस्य नहुनुपर्ने कुनै व्यवस्था संविधानले गरेको छैन। संविधानले केवल तीन अवस्था मात्रै उल्लेख गरेको छ — निर्वाचित पद, मनोनीत पद र नियुक्त पद राष्ट्रपति भएपछि स्वतः छोड्नुपर्ने। त्यस बाहेक अरू कुनै रोक छैन।’
पाण्डेले प्रश्न उठाउँदै भने, ‘संविधानले नगरेको कुरा कुनै पार्टीको विधान बनाएर रोक्न मिल्छ र? निर्णय गरेर रोक्न मिल्छ र?’ उनले संविधान र प्रजातान्त्रिक अधिकारको उल्लङ्घन हुने कुनै पनि कदम प्रजातान्त्रिक पार्टीले गर्न नहुने पनि स्पष्ट पारे।
उपाध्यक्ष पाण्डेले सदस्य बन्नासाथ नै कसैलाई अध्यक्ष बनाउन नहुने नियम नभएको भन्दै, अध्यक्ष बन्ने प्रक्रिया फरक भएकाले यस विषयलाई विधान महाधिवेशनमा उठाउने संकेत गरेका छन्।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार












प्रतिक्रिया