स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरू बीच दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक स्याङ्जाको गल्याङ नगरपालिका–१ मालढुंगामा सम्पन्न भएको छ।
गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी मुख्यमन्त्री चेतनारायण आचार्यबीच भएको बैठकमा दुई प्रदेशबीच समग्र विकास, धार्मिक पर्यटन प्रवर्द्धन र साझा योजना कार्यान्वयनका विषयमा छलफल भएको छ।
बैठकअघि २०८१ माघ ३० गते रानीमहल, पाल्पामा पहिलो मुख्यमन्त्रीस्तरीय बैठक भएको थियो र त्यसले २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको थियो। मालढुंगामा भएको बैठकमा ती प्रतिबद्धताहरूको कार्यान्वयन समीक्षा पनि गरिएको थियो।
गण्डकी सरकारका प्रेस संयोजक नरहरी सापकोटाका अनुसार, ‘दुवै प्रदेशका योजना आयोगले तीन महिनाभित्र सरोकारवाला पक्षहरूको सहभागितामा साझा कार्ययोजना तयार पार्ने छन्।’ साथै वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश हुने साझा निर्णय र बाँकी विषयलाई प्राथमिकतामा राख्दै कार्यान्वयनको व्यवस्था प्रदेश मातहतका निकायमार्फत गरिने निर्णय भएको छ।
बैठकमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि ‘दामोदरकुण्ड–कृष्णागण्डकी उत्तरवाहिनी–लुम्बिनी मुक्तिमार्ग’ को अवधारणा पत्र तयार गर्ने र दुवै प्रदेशका पर्यटन मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने निर्णय भएको छ।
अन्तर-प्रदेश साझेदारीमा सञ्चालन हुने रुपान्तरणकारी कार्यक्रमहरू कार्यान्वयनका लागि खाका तयार गर्न सम्बन्धित विषयगत मन्त्रालयलाई निर्देशन दिने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिका लागि योजना आयोगको समन्वयमा कार्यक्रम पहिचान गरी पुस मसान्तभित्र प्रस्तुति दिने, र कात्तिक महास्नान तथा दामोदर धर्मोत्सव सफल बनाउन स्थानीय तहलाई सहजीकरण गराउने निर्णय पनि बैठकले गरेको छ।
साथै विकास व्यवस्थापन र सेवा प्रवाहमा अनुभव आदान–प्रदान गर्न प्रमुख सचिवस्तरीय संयन्त्र गठन गर्ने, कानूनी तथा नीतिगत एकरुपता कायम राख्दै प्रदेशका प्रमुख तीर्थस्थल तथा पर्यटकीय स्थल जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन संयुक्त रूपमा तयार गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको प्रेस संयोजक सापकोटाले जानकारी दिएका छन्।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया