काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीभित्रका नेताहरूको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै संगठनात्मक कमजोरीमाथि प्रश्न उठाएका छन्।
उनले नेता आनन्द पोखरेलद्वारा लिखित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन समारोहमा बोल्दै केही केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्नै वडामा चुनाव जिताउन नसक्ने तर ठूलो भाषण गर्ने प्रवृत्ति बढेको कटाक्ष गरे। ज्ञवालीले भने, ‘हामीका नेताहरूले आफ्नो वडा जिताउन सक्ने क्षमता देखाए भए त पार्टीले दिग्विजय नै हासिल गर्थ्यो।’
उपमहासचिव ज्ञवालीले पार्टीको विचार र कार्यकर्ताबीचको सम्बन्धलाई बिजुली र तारसँग तुलना गर्दै वैचारिक स्पष्टता भए पनि त्यसलाई जनतासम्म पुर्याउने कार्यकर्ता कमजोर भएको बताए। उनले भने, ‘पावर सकेटमा बिजुली छ, बल्बमा उज्यालो छ, तर तार वा कन्डक्टर भएन भने बिजुली बल्दैन। पार्टीका विचार राम्रो छन्, तर त्यसलाई जनतासम्म पुर्याउने कोही भएन भने विचार विचारमै सीमित रहन्छ।’
ज्ञवालीले पछिल्लो समय पार्टीभित्र विचार र सङ्गठनभन्दा चामत्कारिक नेतृत्व खोज्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै यस्तो नेतृत्वले सबै समस्या समाधान गर्ने भ्रम गलत रहेको उल्लेख गरे। उनले पञ्चायतकालमा राजा महेन्द्रले ‘गाउँ फर्क राष्ट्रिय अभियान’मार्फत राष्ट्रिय सञ्जाल निर्माण गरेको उदाहरण दिँदै वर्तमान कम्युनिस्ट शैलीले जनतासँग दूरी बढाएको औँल्याए।
अन्त्यमा ज्ञवालीले नेता पोखरेलको पुस्तकले पार्टी संगठन र कार्यकर्ताहरूलाई जनतासँग कसरी जोडिने भन्ने स्पष्ट मार्गदर्शन दिने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार












प्रतिक्रिया