काठमाडौं । संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट टुंगो नलागेपछि आज राष्ट्रिय सभामा प्रस्तुत गर्ने कार्यसूची हटाइएको छ।
राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्ने तय भए पनि विधेयक समितिबाट पारित गर्ने तयारी स्वरूप बैठक सवा ३ बजे सारिएको थियो। तर, विधायन व्यवस्थापन समितिले विधेयक पारित गर्न नसकेपछि सभाको कार्यसूची नै परिमार्जन गरिएको हो।
सभाको दैनिक कार्यसूचीको चौथो बुँदामा समितिका सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी प्रतिवेदन सभामा पेस गर्ने कार्यक्रम तय गरिएको थियो। तर विधेयकमा सहमति नजुटेकाले सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विषय कार्यसूचीबाट हटाइएको औपचारिक जानकारी दिए।
यससँगै लामो समयदेखि बहसमा रहेको संघीय निजामती सेवा विधेयक पुनः अनिश्चित बनेको छ।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार












प्रतिक्रिया