काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो अभियानमा संलग्न समर्थकलाई कुनै पनि राजनीतिक दलका कार्यकर्तालाई शत्रु वा पराईको रूपमा नहेर्न आग्रह गरेका छन्।
सोमबार राजधानीमा आयोजित ‘हर्क साम्पाङ : अ रिभोलुसन’ नामक भेला तथा संगठन विस्तार कार्यक्रममा उनले विचार भिन्नताले सम्बन्धमा दूरी ल्याउन नहुने भन्दै आज नबुझ्नेले भोलि अवश्य बुझ्ने धारणा व्यक्त गरे।
‘हाम्रो संगठनमा जोडिने कसैले पनि अन्य दलका मानिसलाई शत्रु भन्ने काम नगर्नुहोस्,’ उनले भने, ‘आज उहाँले कुरा नबुझ्नुभएको होला, भोलि बुझेर तपाईंसँगै श्रम गर्न आउनुहुनेछ।’
साम्पाङले देश निर्माणका लागि सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गरे। उनले ‘नेपाली समय’ जस्ता नकारात्मक सोचाइलाई त्यागी देशप्रति माया र सम्मान बढाउनुपर्नेमा जोड दिए।
‘नेपाललाई होच्याउने प्रवृत्ति अब अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘मिलेर बसौँ, देशलाई माया गरौँ। यो देश हाम्रो हो।’
आफ्नो १० वर्षे संघर्ष स्मरण गर्दै उनले सुरुमा धरानमा आफूलाई धेरैले तिरस्कार गरे पनि निरन्तर प्रयासपछि जनताले विश्वास गरेको बताए। ‘धरानले मलाई चिन्न १० वर्ष लाग्यो,’ उनले स्मरण गरे, ‘सुरुमा त निकै तिरस्कार गरिएको थियो।’
साम्पाङले श्रमलाई सर्वोच्च सम्मान दिनुपर्ने उल्लेख गर्दै आफूलाई साधारण श्रमिकका रूपमा चिनाए। ‘काम गर्दागर्दै थकित भएर बेहोस भए पनि खुसी लाग्छ,’ उनले हाँसो बीच भने, ‘श्रमदानमा जान्छु, कहिलेकाहीँ खाना पनि खाँदिनँ।’
उनका अनुसार आफ्नो संगठनमा पद, अहंकार वा प्रतिष्ठालाई कुनै स्थान छैन। ‘म यस्तो, म त्यस्तो भन्ने कुरा चाहिँ हाम्रो संगठनमा हुँदैन,’ उनले स्पष्ट पारे, ‘हामी सबै बराबरी हौँ।’
राज्यका निकायहरू दलको होइन, राष्ट्रकै पक्षमा रहनुपर्नेमा उनले विशेष जोड दिए। ‘पत्रकार, प्रहरी, कर्मचारी, न्यायाधीश र अख्तियार कुनै पार्टीको होइन, देशकै हुनुपर्छ,’ उनले चेतावनी दिँदै भने, ‘देश रह्यो भने मात्रै पत्रकारिता र अन्य निकायहरू रहन्छन्।’
पत्रकारिताको सन्दर्भमा उनले निष्पक्षता नै न्यायको आधार भएको उल्लेख गर्दै पत्रकारहरू सधैं निष्पक्ष धारमा उभिनुपर्ने सुझाव पनि दिए।
प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया