विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीयतालाई नक्कली संघीयता भनेका छन्। सोमबार विराटनगरमा संघीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै उनले संघीयताको वास्तविकता नभएको र अधिकार प्राप्तिका आन्दोलनहरू प्रभावकारी नबन्ने कारण लामो समयसम्म उत्पीडित वर्गले अधिकार पाउन नसकेको बताए।

यादवले अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने भए पनि नेताहरूको विभाजन, पार्टी फोड्ने र नश्लवादी सोचले आन्दोलन कमजोर भएको स्वीकारे। उनले भने, ‘जहिले सम्म हेलाहोचो गर्ने नश्लवादी पार्टी र नेताहरूसँग टाँसिइरहन्छौं, तबसम्म वास्तविक अधिकार प्राप्त गर्न सक्दैनौं।’

advertisement

अधिकार र वास्तविक संघीयता सुनिश्चित गर्न सबै उत्पीडित वर्ग—मधेसी, थारु, जनजाति, दलित, मुस्लिम—एकै मोर्चामा उभिनुपर्ने उनको धारणा छ। उनले थपे,’सबै उत्पीडित वर्गले एउटै मोर्चा बनाएर अघि बढेमा मात्र पहिचानसहितको संघीयता र अधिकार प्राप्त गर्न सकिन्छ।’

कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पनि मधेसी जनतालाई ३५ वर्षदेखि न्याय नपुगेको उल्लेख गर्दै आन्दोलनको विकल्प नभएको बताए। उनका अनुसार विगतका सम्झौताले संविधानमा उल्लेख नपाउँदा आन्दोलन असफल भएको थियो।

त्यस्तै, जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष ह्देयश त्रिपाठी लगायत मोर्चाका नेताहरूले पनि उत्पीडित वर्गको एकतामा आधारित मोर्चा गठन गरी आन्दोलनमा उत्रिन आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com