काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा सुधार गर्न दबाब दिनका लागि नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा धर्ना कार्यक्रम सुरु गरेको छ।
महासंघका अनुसार, विगतमा सरकारसँग भएका सहमतिअनुसार शिक्षा विधेयकमा शिक्षकको माग अनुसार संशोधन गर्नुपर्नेछ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मंगलबार पहिलो चरणको आन्दोलनअन्तर्गत धर्नामा बसेको जानकारी दिँदै, ‘सार्वजनिक शिक्षाको गुणस्तर उन्नत गर्न शिक्षक कर्मचारीका माग सम्बोधन गर्नु अपरिहार्य छ,’ भने।
महासंघले २० भदौसम्म धर्ना कार्यक्रम जारी राख्ने जनाएको छ। उनीहरूले अस्थायी शिक्षक पदको आन्तरिक प्रतिष्पर्धा ७५ प्रतिशत र खुला प्रतिष्पर्धा २५ प्रतिशत हुनु पर्ने माग राखेका छन्। तर प्रतिनिधि सभामा समितिबाट पारित गरिएको विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला व्यवस्था गरिएको छ।
महासंघले विद्यालय कर्मचारीको पद, वेतन र बालकक्षा शिक्षकको सेवा सुविधा स्पष्ट नभएको, साथै संस्थागत विद्यालयका शिक्षकको अव्यवहारिक सरुवा प्रणाली र सेवा व्यवस्थापन अपूरा रहेको भन्दै विरोध जनाएको छ।
विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट भदौ ५ मा पारित भएको थियो। विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका थिए।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया