काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ। भेटमा अर्थतन्त्र, शहरी पूर्वाधार, लगानी, पर्यटन र वातावरण लगायतका विषयमा व्यापक छलफल भएको छ।
अर्थमन्त्री पौडेलले नेपालका अर्थतन्त्रका सूचकहरूमा गत वर्षको तुलनामा उल्लेखनीय सुधार आएको जानकारी दिँदै सरकारले नीतिगत, संरचनागत र कार्यान्वयन प्रक्रिया सुधारमा ध्यान दिएको बताए। उनले विश्व बैंकले आगामी ६ वर्षका लागि तयार पारेको कन्ट्री पार्टनरसीप फ्रेमवर्क नेपालका विकास आवश्यकतासँग मेल खाने भएकाले त्यसअनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकार विश्व बैंकसँग सहकार्य गर्न इच्छुक रहेको बताए।
पौडेलले हाल वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा छलफल भइरहेको जानकारी दिँदै, विधेयक पारित भएपछि निजी क्षेत्रसँग सहकार्य गरेर प्रतिफल दिने आयोजना तथा लगानीमा अघि बढ्ने बताए। उनले विधेयकको लक्ष्यअनुसार परियोजनामा अघि बढ्न विश्व बैंकको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे।
विश्व बैंकका उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर सुनिश्चित गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले लुम्बिनी र काठमाडौं उपत्यकाको शहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि निजी क्षेत्रसँग मिलेर कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।
उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचकमा सुधार हुनु सकारात्मक संकेत भएको बताउँदै, वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कानूनले पूर्वाधार क्षेत्रमा नयाँ लगानी अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्रको लगानी आकर्षित गर्न र समग्र आर्थिक वृद्धिमा सहयोग पुर्याउनेमा विश्व बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार












प्रतिक्रिया