काठमाडौं । नेपाली महिला फुटबल टोलीकी प्रमुख स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ सिजन २०२५-२६ का लागि न्युजिल्यान्ड प्रस्थान गरेकी छन्। साम्बा नयाँ सिजनमा वेलिङटन फोनिक्समा आबद्ध भई क्लबको प्रिसिजन क्याम्पमा सहभागी हुन सोमबार त्यहाँ पुगिन्।

फोनिक्स न्युजिल्यान्डको क्लब भए तापनि ए-लिग वुमनमा खेल्ने भएकाले साम्बाले अस्ट्रेलियाका टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछिन्। यो सिजनको लिग अक्टोबर ३१ मा सुरु हुँदैछ। लिगमा १२ टोलीले भाग लिनेछन्, जसमा ११ टोली अस्ट्रेलियाका छन्। अघिल्लो सिजन वेलिङटनले लिगमा नवौं स्थान हासिल गरेको थियो र २३ खेलमध्ये केवल ७ खेल जितेको थियो।

advertisement

न्युजिल्यान्ड प्रस्थान गरेपछि साम्बाले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ यात्रा शुरू भएको उल्लेख गर्दै लेखेकी छन्, “नयाँ यात्राको सुरुवात। सम्पूर्ण नेपाली समर्थकको आशीर्वाद र समर्थनको साथमा। वेलिङटन फिनिक्सबाट खेल्न र त्यहाँ रहनु हुने नेपाली समर्थकलाई मैदानमा भेट्न उत्साहित छु।”

साम्बाले गत दुई सिजन फ्रान्सको शीर्ष डिभिजन क्लब गुइनगाम्पबाट खेल्दै आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी थिइन्। यसअघि उनी इसराइलको शीर्ष डिभिजन क्लब हापोइल रा’नानामा आबद्ध थिइन्, तर युद्धका कारण सिजनको बीचमा फर्किनु परेको थियो। उनी युरोपियन लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी पनि हुन्।

साम्बा भारतमा पनि चर्चित रहिन्। गोकुलम केरलाबाट भारतीय महिला लिगमा खेलेकी उनले १० खेलमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्नु मात्र होइन, आफ्नो टोलीलाई लिग उपाधि पनि जिताएकी थिइन्। भारतमा तीन सिजन महिला लिग खेल्दा उनले लगातार तीन सिजन उपाधि जितेकी छन्। कुल मिलाएर २४ खेलमा ६० गोल गर्दै उनले कीर्तिमान समेत बनाएकी छिन्।

साम्बा दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकरमध्ये एक हुन्। घरेलु लिगमा उनी एपिएफबाट खेल्छिन्। उनी २०१४ मा राष्ट्रिय टोलीमा आबद्ध भइन् र साफ च्याम्पियनसिप २०१४ मा भुटानविरूद्धको खेलबाट डेब्यू गरेकी थिइन्। डेब्यू खेलमै गोल गर्दै साम्बाले राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी छन्। हालसम्म उनले ६० खेलमा ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छिन्। साम्बा दुई महिनासम्म नेपाली महिला टोलीको कप्तान पनि रहिसकेकी छन्।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com