काठमाडौं । रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नागु पार्टी) बाट दुई जना उम्मेदवार उठ्ने संभाव्यता देखिएको छ। तर पार्टी अझै निर्वाचन आयोगमा दर्ता नभएकाले विवाद झन् उग्र भएको छ।
पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले छुट्टाछुट्टै उम्मेदवार खडा गर्ने तयारी गरिरहेका छन्। संरक्षक चौधरीले उमाशंकर चौधरीको नाम टुंगो लगाइसकेका छन्। उमाशंकर पहिले निजामती क्षेत्रमा सेवा गरेपछि थारु आयोगमा सदस्य थिए र हाल रुपन्देही–३ बाट उम्मेदवार बन्ने तयारीमा छन्।
अर्कोतर्फ अध्यक्ष रञ्जिता श्रेष्ठले पनि उम्मेदवार चयनमा छुट्टै प्रक्रिया अघि बढाएकी छन्। भदौ १५ मा सम्पन्न उनीपक्षीय केन्द्रीय समितिको बैठकअनुसार तल्लो कमिटीको सिफारिसबाट उम्मेदवार निश्चित गर्ने तयारी रञ्जिताको रहेको छ।
पार्टीभित्रको यो विवादले दुई फरक उम्मेदवार खडा हुने संभावना देखाएको छ। रञ्जिता पक्षका एक नेताले भने, ‘उमाशंकर चौधरी पार्टीका नेता होइनन्, उहाँ पूर्ण ब्युरोक्र्याट हुन्। रेशम चौधरीको तर्फबाट उमाशंकरको नाम कायम रह्यो भने तल्लो तहका कमिटीले स्वीकार्दैनन्, र अर्को उम्मेदवार उठाउन सकिन्छ।’
सूत्रका अनुसार रञ्जिता पक्षले डा. सरोज चौधरीलाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ। सरोज पार्टीमै लामो समय सक्रिय छन् र २०७९ मा प्रदेशसभामा चुनाव हारेका थिए। यसपटक उनले सुरुदेखि उम्मेदवारीको तयारी गरेका छन् र पार्टीले उनलाई सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ।
तर पार्टीका नेता एवं सांसद लालवीर चौधरीले भने दुई उम्मेदवार नहुने दाबी गर्दै अन्ततः एउटै उम्मेदवार हुने बताए। उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र बाहिरी विवाद भए पनि सबै मिलाइने स्पष्ट पारे।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया