काठमाडौं । चिकित्सा शिक्षा सुधारका अगुवा डा. गोविन्द केसीले आइतबारदेखि राखेको अनशन मंगलबार तोडेका छन्।

डा. केसीले गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जुस पिएर दिउँसो २ बजे अनशन समाप्त गरेका हुन्।

advertisement

उनको स्वास्थ्य स्थिति अनसनका क्रममा लगातार बिग्रँदै गएको थियो। डा. अमृत जैसीका अनुसार, डा. केसीलाई मांसपेशी दुखाइ, शरीर बाउडिने र मुटुको चालमा गडबडी जस्ता लक्षण देखा परेको थियो। चिकित्सकको सल्लाह अनुसार थप उपचारको आवश्यकता भए पनि डा. केसीले त्यसलाई पूर्ण रूपमा मान्यता दिएका थिएनन्।

डा. केसीले निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णयको विरोध गर्दै आइतबारदेखि सत्याग्रह सुरु गरेका थिए। चिकित्सा शिक्षा आयोगले साउन ३० मा बसेको बैठकमा निजी मेडिकल कलेजमा एमबीबीएसको सिट १३० सम्म बढाउने निर्णय गरेको थियो।

उनको तर्क छ कि मापदण्ड पूरा नगरेका निजी मेडिकल कलेजमा अनियमित सिट वितरण गर्दा शिक्षा र स्वास्थ्य प्रणालीको गुणस्तर खस्किन्छ। डा. केसी भन्छन्, “सिट वृद्धि गर्दा नेता र माफियालाई लाभ पुग्छ, तर स्वास्थ्य सेवा कमजोर हुन्छ। यसले आम नेपालीको स्वास्थ्यसँग खिलवाड गर्ने काम हो।”

डा. केसीले सत्याग्रहका क्रममा राखेका प्रमुख मागहरूमा निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता लिनु, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज र अस्पताल स्थापना गर्नु, कैलालीको गेटामा निर्माण सम्पन्न शिक्षण अस्पताल सञ्चालन गर्नु, साथै एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दी सम्बन्धी प्रावधानको कार्यान्वयन सुनिश्चित गर्नु रहेका छन्।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com