काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ मिलेर अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको दाबी गरेका छन्।
चीनले दोस्रो विश्वयुद्धमा विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा आयोजना गरेको भव्य सैन्य परेडमा सीसँगै पुटिन र किमको उपस्थिति देखिएपछि ट्रम्पले यस्तो आरोप लगाएका हुन्। सो कार्यक्रममा अन्य २६ राष्ट्रका प्रमुखहरू पनि सहभागी थिए।
‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले भने, ‘पुटिन र किमलाई मेरो शुभकामना पुर्याइदिनुहोस्, तपाईंहरू अहिले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छौँ।’
साथै, उनले चीनलाई दोस्रो विश्वयुद्धमा अमेरिकाले दिएको योगदान र बलिदान स्मरण गराउँदै अमेरिकी सैनिकहरूको साहस र वीरताको सम्मान गर्न आग्रह गरे। ‘चीनको विजय यात्रामा हजारौँ अमेरिकीहरूले ज्यान गुमाए, आशा छ उनीहरूको बलिदानलाई सम्मानपूर्वक सम्झना गरिनेछ,’ ट्रम्पले टिप्पणी गरेका छन्।
प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार













प्रतिक्रिया