मस्को । रूसबाट आयात हुने कच्चा तेलमा भारतले चाँडै नै थप मूल्य छुट पाउने भएको छ। अमेरिकाले भारतमाथि थप भन्सार महसुल लगाएर दबाब सिर्जना गरिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई यस्तो सुविधा दिन लागेका हुन्। भारतले पहिलेदेखि नै रूससँग तुलनात्मक सस्तो मूल्यमा तेल खरिद गर्दै आएको छ।

मिडिया रिपोर्टअनुसार, रुसी बेन्चमार्क युराल कच्चा तेलको मूल्य अब ब्रेन्ट कच्चा तेलभन्दा प्रति ब्यारेल ३ देखि ४ अमेरिकी डलरसम्म सस्तो पर्न सक्ने अनुमान छ। यो छुट सेप्टेम्बरको अन्त्यदेखि अक्टोबर महिनासम्म लागू हुने बताइएको छ। गत हप्तासम्म छुट २ डलर ५० सेन्ट थियो भने जुलाई महिनामा यो छुट १ डलर मात्र थियो।

advertisement

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशतसम्म भन्सार महसुल बढाएका थिए। यसमध्ये २५ प्रतिशत कर भारतले रुसबाट निरन्तर तेल खरिद गरिरहेको कारण लगाइएको थियो। अमेरिकाले भारतलाई रुससँग तेल किनेर युक्रेन युद्धलाई अप्रत्यक्ष रूपमा आर्थिक सहयोग गरेको आरोप समेत लगाउँदै आएको छ।

अमेरिकी करका कारण भारत आर्थिक दबाबमा परेको भए पनि रुसले दिने भनिएको नयाँ छुटले उक्त दबाब केही हदसम्म कम गर्ने देखिएको छ। रिपोर्टअनुसार, सेप्टेम्बर महिनामा भारतले अगस्टको तुलनामा १० देखि २० प्रतिशत बढी तेल रुसबाट आयात गरेको थियो।

भारतले हालसम्म १ लाख ५० हजारदेखि ३ लाख ब्यारेलसम्म अतिरिक्त तेल खरिद गरेको छ भने आगामी दिनमा छुट थपिएसँगै आयातको परिमाण अझ बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com